पर्सामा चितुवाको आक्रमणबाट प्रहरीसहित ३ जना घाइते

वीरगन्ज । पर्साको पोखरियामा चितुवाको आक्रमणबाट १ प्रहरी सहित ३ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ।

हिजो मध्यराति जंगलबाट गाउँमा पसेको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका–५ सतवरियाका जोगिन्द्र साह तेली, वडा नम्बर–४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते हुुनुभएको हो।

सतवरिया स्थित गँहु बारी हुँदै गाउँमा छिरेको चितुवाले स्थानीयलाई आक्रमण गरी घाइते बनाउन थालेपछि नियन्त्रणमा लिन प्रहरीको टोली जाँदा प्रहरी जवान यादवलाई पनि आक्रमणमा परि घाइते हुनुभएको हो ।

गम्भीर घाइते मियाँको पोखरिया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। अरू २ जना घाइतेको भने पोखरिया अस्पतालमै उपचार भइरहेको छ।

चितुवा अहिले पनि गाउँकै एक गोठमा लुकेर बसेकाले नियन्त्रणका लागि डिभिजन वन कार्यालयको टोली पुगेर नियन्त्रणको प्रयास गरिरहेको स्थानीय शैलेस गुप्ताले जानकारी दिनुभयो।

Back to top button