त्रिविको नेविसंघ अध्यक्ष ३ जनालाई तोकिएको पत्र सार्वजनिक

काठमाडौं । नेविसंघको त्रिभुवन विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी ३ जनालाई दिइएको व्यहोराको पत्र सार्वजनिक भएको छ ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको व्यहोराको पत्र सार्वजनिक भएको हो ।

तर, केन्द्रीय अध्यक्ष शेर्पाले भने अध्यक्षमा मनोनित गरिएको भनिएका तीनैजना आधिकारिक नभएको बताउनुभएको छ । केही दिनमा अध्यक्ष मनोनित गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष शेर्पाले सुरुमा कैलालीका विष्णुबहादुर बडैलालाई अध्यक्षमा मनोनीत गरेका थिए । तर पछि दीपक र गणेशलाई पनि अध्यक्षमा मनोनीत गरेको पत्र सार्वजनिक भयो ।

चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाको हस्ताक्षर भएको पत्रमा ३ महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरी विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा विष्णु र दीपकले आधिकारिक उम्मेदवार श्यामराज ओझाविरुद्ध उम्मेदवारी दिनुभएको थियो । तर पछि ओझालाई सघाउने गरी उनीहरुले बागी उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

ओझा स्ववियु सभापतिमा निर्वाचित भएलगत्तै विष्णु र दीपकसँगै गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको हो ।

नेविसंघभित्र गुटगत विवाद तीव्र छ । अध्यक्ष शेर्पाको कार्यशैलीमा प्रश्न उठाउँदै असन्तुष्ट पक्षले उहाँको राजीनामा समेत माग्दै आएको छ ।

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा नेविसंघ काठमाडौंका नेताहरुले पत्रकार सम्मेलन नै गरेर शेर्पाले मनलाग्दी नियुक्ति र निर्णय गरेको पत्र पठाएर आतंक सिर्जना गरेको आरोप लगाएका थिए । त्यस्ता काम नरोकिए आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका थिए ।

Back to top button