उपनिर्वाचनका लागि आजबाट दल दर्ता सुरु

विराटनगर । उपनिर्वाचनको दल दर्ता आजबाट सुरु हुँदैछ। उपनिर्वाचन आगामी वैशाख १० गते हुँने तय भएको छ ।

आजबाट सुरु हुने दल दर्ता चैत १२ गतेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेको छ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उहाँको सांसद पद गुमेको कारण पुनः चुनाव लड्न लाग्नुभएको हो ।

बारा क्षेत्र नम्बर–२ बाट निर्वाचित हुनुभएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उहाँले सांसद र पार्टीबाट राजीनामा दिनुभएको छ।

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिनुभएको थियो। आयोगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचोटि निर्वाचन गर्ने जनाएको छ।

Back to top button