मधेश सरकारले रामजानकी रंगशालामा २ अर्ब लगानी गर्ने

जनकपुर । मधेश सरकारले जनकपुरमा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिन २ अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं. १४ रजौलस्थित निर्माणधीन रंगशालाको आज स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले यस्तो घोषणा गर्नुभएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेला घोषणा गरेको १ अर्ब र मधेश सरकारले थप १ अर्ब गरी २ अर्ब रुपैयाँ लगानी गरेर रंगशालालाई पूर्णता दिने मुख्यमन्त्री यादवले बताउनुभयो ।

उहाँले देशकै सुविधासम्पन्न नमुना रंगशाला बनाएर र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने समेत घोषणा गर्नुभयो ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद् राखेपले २०७४ सालमा ३ वर्षभित्र जनकपुरमा सुविधासम्पन्न रंगशाला बनाउने भन्दै रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि गुठी संस्थानसँग भाडामा लिएको थियो ।

राखेपले त्यतिबेला उक्त जग्गामा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियमका साथै बहुउद्देश्यीय इन्डोर कभर्डहल, कबड्डी, खोखो र कुस्तीको ट्रेनिङ सेन्टर निर्माण गर्ने भने पनि काम केही भएको छैन ।

Back to top button