प्यासिफिक एसिया ट्राभल एसोसिएसनको वार्षिक शिखर सम्मेलन पोखरामा हुने

कास्की । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले नेपालमा पहिलोपटक पोखरामा वार्षिक शिखर सम्मेलन गर्ने भएको छ । नेपाल सरकार, पाटा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मे २९ देखि जुन १ गतेसम्म पोखरामा शिखर सम्मेलन हुन लागेको हो ।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा पाटाका महासचिव सुमन पाण्डेले पाटा शिखर सम्मेलनसहित पाटाको बोर्ड बैठक, वार्षिक जनरल मिटिङ, जनरल बोर्ड मिटिङसमेत पोखरामै हुने जानकारी दिनुभयो ।

कोरोना महामारीले सुस्ताएको नेपालको पर्यटनलाई उठाउन पाटा शिखर सम्मेलनले ठूलो भूमिका खेल्ने पाण्डेले दाबी गर्नुभयो ।

‘२०७२ मा भूकम्प जाँदा पनि पाटाले नेपालको पर्यटन बजार रिकभर योजना ल्याएको थियो । त्यसले छोटो समयमै रिकभर पनि भयो,’ उहाँले भन्नुभयो,‘अहिले पनि हामी कोरोनापछि रिकभरको पर्खाइमा छौं ।’

नेपालको पर्यटन बजारमा पोखराको पर्यटनले ठूलो प्रभाव पार्ने भएकाले शिखर सम्मेलन पनि पोखरामै हुन लागेको पाण्डेले सुनाउनुभयो । शिखर सम्मेलनमा १५ देशका पाटा कार्यकारी बोर्ड सदस्यहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

‘शिखर सम्मेलनमा विभिन्न देशका पर्यटन व्यवसायीहरुको सहभागी हुने हुनाले एकआपसको अनुभव आदान–प्रदान गर्ने एउटा राम्रो प्लेटफर्म पनि हो,’ उहाँले भन्नुभयो,‘यसको भरपूर फाइदा पोखराले पनि लिन सक्छ । यहाँका पर्यटन व्यवसायीले छुटाउनै हुँदैन ।’

शिखर सम्मेलनका अवसरमा हुने एड्भेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने आयोजक पाटाले जनाएको छ ।

कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर सिर्जना हुने नेपाल पर्यटन बोर्डका कार्यकारी डा. प्रमुख धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।

उहाँले हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन र पोखरामा भएको हवाई दुर्घटनापश्चात फैलिएको गलत अपवाहलाई चिर्न पनि महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो ।

Back to top button