कोशी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन प्रतियोगता सुरु

धनकुटा । धनकुटामा बुधबारदेखि कोशी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन प्रतियोगता सुरु भएको छ ।

ब्याडमिन्टन सङ्घ धनकुटाको आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तथा निवर्तमान सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभयो ।

धनकुटा नगरपालिका–६ स्थित सल्लेरीको कबडहलमा हुन गईरहेको उक्त खेलको ६ विधामा १ सय १२ खेलाडीले सहभागिता जनाएको सङ्घका अध्यक्ष योगेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

पुरुष सिङ्गलतर्फ १८, महिला सिङ्गलमा ८, पुरुष डबलमा १७, मिक्स डबलमा १३, ४५ वर्ष माथि पुरुष डबलमा १८ र ५५ वर्ष माथि मिक्स डबलमा १४ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । धनकुटा नगरपालिकाको मुख्य प्रयोजनमा ४ दिनसम्म सञ्चालन हुने उक्त खेल अन्तर्राष्ट्रिय रेफ्री अनुपरत्न शाक्यले खेलाउनुहुनेछ ।

प्रतियोगितामा खुला पुरुष र महिला सिङ्गल्समा प्रथम हुनेले रु २० हजार, दोस्रोले रु १२ हजार र तेस्रोले रु ४–४ हजार नगद पुरस्कार मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

यस्तै, पुरुष डबल र मिक्स डबलमा प्रथम हुनेले रु ३० हजार, दोस्रोले रु २० हजार र तेस्रोले रु ५–५ हजार पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । पैँतालिस वर्ष माथि र ५५ वर्ष माथि मिक्स डबलमा प्रथम हुनेले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु ५–५ हजार नगद पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएकोे छ ।

Back to top button