लुम्बिनी सरकारको समर्थन फिर्ता लिने माओवादी केन्द्रको तयारी

लुम्बिनी । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

आजको संसदीय दलको बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने माओवादी केन्द्रको तयारी छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता जोखबहादुर महराले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आजको बैठकमा छलफल हुने बताउनुभयो ।

‘सत्ता समीकरण बदलिएसँगै सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा आजको बैठकमा हामी छलफल गर्दैछौं,’ महराले भन्नुभयो ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने आजको संसदीय दलको बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय हुने बताउनुभयो । ‘आज हामी निर्णय गर्छौं, प्रदेश प्रमुखकहाँ कहिले जाने लगायतका प्राविधिक कुरामा चाहिँ केन्द्रमा सल्लाह गरेर गर्छौं,’ बरालले भन्नुभयो ।

गत पुष २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । गिरीले माघ ५ गते विश्वासको मत पाउनुभएको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको माओवादी केन्द्र, जसपा र जनमत पार्टी अहिले सरकारमा छन् ।

नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका थिए । अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ । नेकपा एमालेको पक्षमा राप्रपा मात्रै उभिएको छ ।

नयाँ गठबन्धनमा रहेका दलले समर्थन फिर्ता लिनासाथ गिरी अल्पमतमा पर्नुहुने छ । गिरीले विश्वासको मत लिन नसके एमाले नेतृत्वको सरकार ढल्ने छ ।

यस्तै, ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ । एमाले र राप्रपा बाहेकका ८ दलीय गठबन्धनको सरकार बनेमा बहुमत पुग्छ । किनकि ८ दलीय गठबन्धनसँग प्रदेशसभाको बहुमत ५० मत हुन्छ ।

नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, जसपाका ३, जनमतका ३, लोसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेशसभा सदस्य छन् ।

Back to top button