स्नातक चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णय सच्याउन विद्यार्थी संगठनहरुको माग

काठमाडौं । यही चैत १२ गतेदेखि सुरुहुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने त्रिभुवन विश्वविद्यालयको निर्णयको विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । विद्यार्थीहरु अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन उनीहरुले माग गरेका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई दुःख दिने मनसायका साथ परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र सार्ने निर्णय गरेको आरोप लगाउनुभएको छ । यो निर्णयबाट विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्ने उहाँहरुको ठहर छ ।

सो विज्ञप्तिमा लेखिएको छ,‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरु सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष संयुक्त विद्यार्थी संगठनहरु जोडदार माग गर्दछौं ।’

Back to top button