गायत्री संस्कृत विद्यालयको चारकोठे भवनको मेयर कोइरालाद्वारा शिलन्यास

विराटनगर । विराटनगर–७ स्थित गायत्री संस्कृत माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माण हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुने भवन भूकम्प प्रतिरोधी हुनेछ ।

भवनको आज एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलन्यास गर्नुभएको छ । ४५ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन आगामी असार २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययन गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक चूडामणि नेपाल ‘अकिञ्चन’ले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् ।

उहाँले विद्यालय सरस्वती मन्दिरको काखमा रहेको भन्दै यसको विकासका लागि सरस्वती मन्दिर र विद्यालयले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । भौतिक संरचना र शिक्षक अभावका कारण सोचेजस्तो परिणाम आउन नसकेको प्रधानाध्यापक नेपालको भनाई छ ।

मेयर कोइरालाले शैक्षिक क्षेत्रको सुधारका लागि महानगरपालिकाले काम गरिरहेको भन्दै शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास नहुने बताउनुभयो । मेयर कोइरालाले भौतिक संरचनाले मात्रै शैक्षिक गुणस्तर वृद्धि नहुने तर्क गर्दै शिक्षकहरुले मन लगाएर पठनपाठन गरे कमजोर भौतिक संरचना भएका विद्यालयमा पनि शैक्षिक गुणस्तर कायम गर्न सकिने बताउनुभयो ।

यस्तै विराटनगर वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले विराटनगरका लागि गायत्री संस्कृत विद्यालय फरक किसिमको विद्यालय रहेको भन्दै नेपाली भाषाको जननीका रुपमा रहेको संस्कृत भाषाको संरक्षण र सम्वर्धनमा गायत्री विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पोखरेलले दरबन्दीको अभावका कारण सोचजस्तो परिणाम ल्याउन नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक प्रदीपकुमार चापागाईं, पूर्वप्रधानाध्यापक युगेश्वर मेहतालगायतले विद्यालयको स्तरोन्नति र गुणस्तरवृद्धिका लागि सबैको भूमिका हुनुपर्ने बताउनुभयो ।

Back to top button