पछिल्लो आर्थिक अवस्थाबारे चिन्तित छु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे आफू चिन्तित रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीसँग भट्दै उहाँले यस्तो बताउनुभएको हो ।

चेम्बरले नवनियुक्त राष्ट्रपति पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले भेट गरेको हो ।

चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभयो। जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘सरकारले पूर्णता पाइसकेको छैन । सरकारले पूर्णता पाए लगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु ।’

वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताउनुभयो । मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रपतिसँगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रदर्शन हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।

अध्यक्ष मल्लले भन्नुभयो,‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवम सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ ।’

पूँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताउनुभयो । आर्थिक समृद्धि र अर्थतन्त्रलाई चालायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो।

यस्तै, आत्मनिर्भर कृषिका लागि राष्ट्रपति माटो प्रवर्द्धन जस्ता परियोजना बनाई राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने समेत चेम्बरले सुझाव दिएको छ ।

Back to top button