नेप्सेमा १८ अंकको गिरावट, कारोबार रकममा सुधार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से ० दशमलव ९४ प्रतिशतले गिरावट भएको छ । आज नेप्से १८ दशमलव १५ अंकले गिरावट भएर १९१५ दशमलव १४ अंकमा बन्द भएको छ ।

बजारमा सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।

गत मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा आज बढेर कारोबार १ अर्ब ४१ करोड ३२ लाख पुगेको छ । कुल २९ हजार ६८५ वटा कारोबारमा ४३ लाख ४० हजार २७० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

आज बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको करिब २१ करोड ७५ लाखको कारोबार हुँदा सिद्धार्थ बैंकको ८ करोड ३६ लाखको कारोबार भएको छ ।

एनआईसी एशिया बैंक र सिद्धार्थ बैंककको मर्जरको चर्चा चल्दा एनआईसी एशिया बैंकको सेयरमूल्यमा उच्च गिरावट भएको छ भने सिद्धार्थ बैंकको सेयरमूल्य बढेको छ । दुवै बैंकको कारोबार पनि उच्च भएको हो ।

यसदिन एनआईसी एशिया बैंकको सेयरमूल्य ५ दशमलव १२ प्रतिशतले गिरावट हुँदा सिद्धार्थ बैंकको सेयरमूल्य ८ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।

आज नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै, २८ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।

माया खोला जलविद्युत कम्पनी र एशियन हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

युनिक नेपाल लघुवित्तको सेयरमूल्य ७ दशमलव ४६ प्रतिशतले गिरावट हँदा श्रृजनशील लघुवित्तको सेयरमूल्य ६ दशमलव ८३ प्रतिशत र खप्तड लघुवित्तको सेयरमूल्य ६ दशमलव ०२ प्रतिशतले घटेको छ ।

Back to top button