विराट गोल्डकपः उद्घाटन खेलमा आयोजक विजयी, आज आर्मी र जावलाखेल भिड्दै

विराटनगर । विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै घरेलु टोली विराटनगर सिटि फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद रंगशालामा गएराती सम्पन्न उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै विराटनगरले अन्तिम चारमा स्थान पक्का बनाएको हो । जीतका लागि विराटनगरका आशिष श्रेष्ठ नायक हुनुभयो ।

निर्धारित समयसम्म खेल गोलरहित खेल बराबरीमा रोकिएपछि अतिरिक्त समय खेलाइएको थियो । खेलकोे १ सय १७ औं मिनेटमा विराटनगरका आशिष श्रेष्ठले दिवाकर चौधरीले निकालिदिएको पासलाई गोलमा परिणत गर्नुभयो । आशिष खेलको १ सय ३ मिनेटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गर्नुभएको थियो ।

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।

पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो ।

खेलको पाँचौ मिनेटमा पुलिसका बुद्ध लामाको प्रहार विराटनगरका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाउ गर्नुभयो । १८ औं पुलिसका रवि शंकर पासवानको प्रहार बारमा लागेर फर्किएको थियो । २४ औै मिनेटमा विराटनगरका अभिषेक गुरूङको प्रहार पुलिसका गोलरक्षक संजीव श्रेष्ठले उत्कृष्ट बचाउ गर्नुभयो ।

२८ मिनटेमा पुलिसका ओसेन्द्र कटुवालले ३० यार्डदेखिको प्रहार बाहिरयो । ४१ औं मिनेटमा पुलिसका रवि शंंकर पासवानले पेनाल्टी एरियादेखि गरेको प्रहार पोष्टमाथिबाट बाहिरियो ।

दोस्रो हाफपछि विराटनगरले केही सुन्दर मुभहरु बनाउन सफल रह्यो । ५५ औं मिनेटमा अभिषेक गुरुङको प्रहार बाहिरियो । ८३ औं मिनेटमा पुलिसमा भरत साहले पेलान्टी एरियाबाट गरेको प्रहार गोल हुनबाट बच्यो ।

८४ औं मिनेटमा विराटनगरका युता सुजिकीले ३० यार्डदेखिको प्रहार पोष्टमाथिबाट बाहिरियो । ८८ औं मिनेटमा पुलिसका रविशंकर पासवानको सशक्त प्रहार बाहिरियो । ९० औं मिनेटमा विराटनगरका सन्देश बिकले डिबक्स भित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्ने अवसर गुम्न पुग्यो ।

१०५ मिनेटमा पुलिसका भरत साह वान भर्सेस वानको अवसर सदुपयोग गर्न चुक्नुभयो । प्रतियोगिताको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित हुनुभयो । उहाँले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

आजको खेल नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच हुनेछ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

गोल्डकपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नुभएको हो । उहाँले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार लागि पर्ने बताउनुभयो । उहाँले खेलकुदको विकासमा प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

Back to top button