कोशी नामकरणको विरोधप्रदर्शनमा घाइते पदम लिम्बूको निधन

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते हुनुभएका पदम लिम्बू ‘लाजेहाङ्ग’ को उपचारको क्रममा मृत्यु भएको छ ।

विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए । टाउकोमा चोट लागेका लाजेहाङले बान्ता गरेपछि बुधबार बेहोस अवस्थामा उपचारार्थ बीपी पुर्‍याइएको थियो ।

गम्भीर घाइते हुनुभएका धरान–१५ का पदमको आज बिहान २ः३० बजे उपचारको क्रममा मृत्यु भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।

घटनाको जिम्मा प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवं नेपाल प्रहरीले लिनुपर्ने भन्दै समितिले विज्ञप्तिमार्फत पदमको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ । उहाँलाई शहीद घोषणा गर्न समेत माग गरिएको छ ।

बीपी प्रतिष्ठानको आईसीयूमा उपचार गराइरहनुभएका पदमलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको बेला निधन भएको समितिले जनाएको छ ।

धरान–१५ मा बसोबास गर्दै आउनुभएका लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर हुनुहुन्थ्यो । उहाँ २०५२ देखि लिम्बुवान आन्दोलनमा सहभागि रहनुभएको थियो । लाजेहाङ्गको शव अहिले बीपी प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

Back to top button