रोजेजति मन्त्रालय नपाए हामी सरकारमा जाँदैनौं : खनाल

फिदिम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रोजेजति मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा सामेल नहुने बताउनुभएको छ ।

पाँचथर सदरमुकाम फिदिममा आज समाजवादी प्रेस संगठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले आफ्नो पार्टीलाई तीनवटा राम्रा मन्त्रालय दिनुपर्ने तर्क गर्नुभएको छ ।

‘एकीकृत समाजवादी पार्टीले खेलेको भूमिकाबाट यो सरकार निर्माण भएको हो,’ उहाँले भन्नुभयो,‘हाम्रो योगदानलाई बेवास्ता गरे एकीकृत समाजवादी सरकारमा सभागी हुँदैन ।’

पत्रकारसँग कुरा गर्दै खनालले प्रचण्ड नेतृत्वको सरकार लामो समयसम्म चल्न नसक्ने संकेत गर्नुभएको छ । कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु लामो नहुने खनालको तर्क थियो ।

‘कुनै पनि दलको बहुमत नपुग्नु ठूलो दुर्भाग्य हो,’ उहाँले भन्नुभयो,‘वर्तमान सरकार धेरै दलहरूलाई मिलाएर गठन गरिदैछ । यस्तो परिस्थितिमा कुन दल कतिखेर भड्किन्छ र सरकार ढल्छ भन्ने टुंगो छैन् ।’

Back to top button