मुख्‍यमन्त्री जम्मकट्टेलद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव पेस गर्नुभएको छ ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक संसदबाट विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्नुभएको हो ।

पुष २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका २ तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको थियो। उहाँलाई ६ दलका १ सय ५ जना सांसदले विश्वासको मत दिएका थिए।

गत पुष २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।

Back to top button