बागमती सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिने घोषणा गर्नुभएको हो ।

केन्द्रीय सत्ता समीकरणमा माओवादी केन्द्रले एमालेलाई धोका दिएर समीकरण फेरेको आरोप लगाउँदै थपलियाले सरकारबाट बाहिरिनु परेको उल्लेख गर्नुभयो।

केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्दा एमालेको सहयोग लिएको तर पछि समीकरण फेरेकोप्रति उहाँले खोलो तर्‍यो लौरो बिर्सियो जस्तो गरेको टिप्पणी गर्नुभयो।

उहाँले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा रहने भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराउनुभयो।

एमालेबाट थपलिया आर्थिक मामिला तथा योजना, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छि विकास मन्त्री हुनुहुन्थ्यो।

पुष २५ गते एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेलले आज दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

यसअघि माघ ३ गते पहिलोपटक विश्वासको मत लिँदा जम्कट्टेलले १ सय १० सदस्यीय प्रदेशसभामा १ सय ५ सांसदको समर्थन प्राप्त गर्नुभएको थियो।

फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएपछि आज उहाँले संविधानअनुसार दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ।

Back to top button