ओलीद्वारा दमकमा सहकारी आवास परियोजना हस्तान्तरण कार्यक्रमको उद्घाटन

विर्तामोड । झापाको दमक नगरपालिका–४ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यका परिवारलाई सहकारी आवास परियोजना हस्तान्तरण गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नवनिर्मित सहकारी आवास परियोजना हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

ओलीले उद्घाटन गरेसँगै संस्थाले शेयर सदस्यहरूलाई आवास परियोजना हस्तान्तरण गरेको हो।

हस्तान्तरण उद्घाटन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले ठगी गर्नका लागि खोलिएका र वास्तविक रुपमा नै सहकारिताको अभ्यास गरेर खोलिएका सहकारीहरूको पहिचान गरेर मात्र आर्थिक कारोबार गर्न सर्वसाधारण जनतालाई आग्रह गर्नुभएको छ ।

‘एकल व्यक्तिको लगानी र सामूहिक लगानीमा खोलिएका सहकारीको पहिचान सर्वसाधारण आफैले गर्नुपर्छ,’उहाँले भन्नुभयो,‘एकल लगानीका सहकारी निजी स्वार्थ पूरा गर्नका लागि हुन्छ, सामूहिक लगानीका सहकारीले मात्र वास्तविक सहकारीको मर्म बुझ्छन् ।’

त्यसैको एउटा उदाहरण मेची सहकारीले यो आवास परियोजना बनाएर देखाइसकेको उहाँले बताउनुभयो । कृषि क्षेत्रमा सहकारीका माध्यमबाट ठूलो परिवर्तन ल्याउन सक्ने बताउँदै उहाँले भँन्नुभयो,‘त्यसतर्फ पनि ध्यान दिन सहकारीकर्मी र अभियान्ताहरूलाई आग्रह गरे ।’

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले मेची आवास क्षेत्रमा कूल ५७ वटा घरहरू निर्माण गरिएको बताउनुभयो । एक विगहा १८ कट्ठा जग्गामा कुल २२ करोड ८३ लाखमा सो घरहरू निर्माण गरिएको छ ।

यस्तै, शेयर सदस्यका लागि एउटा घरको मुल्य कम्तीमा ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्म तोकिएको छ । हाल सो परियोजना क्षेत्रमा २६ शेयर सदस्यका परिवारले बसोबास गरिरहेका छन् । सबै घर बिक्री भइसकेको प्रमुख बगालेले बताउनुभयो ।

Back to top button