मुख्यमन्त्री जम्कट्टेललाई हामी विश्वासको मत दिन्छौं : कांग्रेस

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत माग्न राखेको प्रस्तावमा बोल्दै कांग्रेस प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामाले यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले सरकार परिवर्तनमा देशी विदेशी चलखेल केही पनि नरहेको जिकिर गर्नुभयो।

‘आफू सत्तामा हुँदा प्राकृतिक हुने अरू हुँदा विदेशी चलखेल हुने भन्ने हुँदैन’उहाँले भन्नुभयो,‘अलि–अलि केन्द्रको हस्तक्षेप भयो होला तर विदेशी हस्तक्षेप केही पनि छैन।’

गत पुष २५ गते एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेलले आज दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएपछि उहाँले संविधानअनुसार दोस्रो पटक विश्वासको मत लिनु परेको हो।

यसअघि माघ ३ गते पहिलोपटक विश्वासको मत लिँदा जम्कट्टेलले १ सय १० सदस्यीय प्रदेशसभामा १ सय ५ सांसदको समर्थन प्राप्त गर्नुभएको थियो।

Back to top button