भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज

भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।

गान्धी केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित हुनुभएको थियो । भारतीय संविधानको धारा १०२ (१) र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उहाँको सांसद पद खारेज भएको सूचनामा उल्लेख छ ।

भारतीय संविधानको धारा १०२ (१) र १९१ (१) मा यदि संसद वा विधानसभाको कुनै सदस्य लाभको पदमा पुगे, मानसिक रुपमा अस्वस्थ भए वा वैध भारतीय नागरिक रहेनन् भने उसको सदस्यता रद्द हुन्छ ।

अयोग्यताको अर्को नियम संविधानको दशौं अनुसूचीमा छ, जसमा दलबदलका आधारमा सदस्यलाई अयोग्य ठहर गर्ने व्यवस्था छ । यसका साथै लोकसभा प्रतिनिधित्व अधिनियम १९५१ मा अपराधिक मामिलामा सजाय पाएका सांसद वा विधायकको सदस्यता रद्द गर्ने व्यवस्था छ ।

हिजो सुरतको एक अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई २ वर्षको सजाय सुनाएको थियो । १५ हजार भारु जरिवाना तोकेको थियो । तर उहाँको सजाय ३० दिनका लागि स्थगित गरिएको थियो ।

अर्थात राहुलसँग अदालतले सुनाएको सजायविरुद्ध माथिल्लो अदालतमा अपील गर्ने समय एक महिना हुनेछ । २०१९ मा राहुलले मोदी थरबारे टिप्पणी गर्नुभएको थियो । सोही टिप्पणीका आधारमा उहाँमाथि अदालतमा मुद्दा दायर भएको थियो।

Back to top button