गण्डकी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

कास्की । नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो।

माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने २ मन्त्रीले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने उहाँको भनाइ छ। माओवादीबाट दलका नेता चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो।

यसअघि हिजो प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश सरकारबाट बाहिरिन संसदीय दललाई निर्देशन दिनुभएको थियो।

माओवादीले समर्थन फिर्ता लिएसँगै नकेपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ। संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ।

यस्तै, एमालेका २२, माओवादी केन्द्रका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

केन्द्रीय समीकरणमा फेरबदल भएसँगै प्रदेशमा पनि सत्तासमीकरण बदलिने अवस्था आएको माओवादी संसदीय दलका नेता चुमानले बताउनुभयो ।

उहाँले अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने उल्लेख गर्नुभयो। २७ सदस्यसहित प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठनको कसरत थालेका छन्। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ। कांग्रेस र माओवादी मिल्दा सरकारलाई सहज बहुमत पुग्छ।

नयाँ बन्ने सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषय भने अझै नटुंगिएको नेताहरुले बताएका छन्। कांग्रेस र माओवादी दुवैले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।

Back to top button