एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशनः आचरण र व्यवहार ख्याल गर्नुहोस

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई आचरण र आनीबानीमा ख्याल गर्न निर्देशन दिनुभएको छ ।

गृहजिल्ला झापामा आज आयोजित मिसन ग्रासरुट अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आचरण राम्रो नभए कसैले पनि विश्वास गर्न नसक्ने भन्दै ख्याल गर्न निर्देशन दिनुभएको हो ।

‘तपाईं पण्डित होला, व्याख्या राम्रो गर्नुहोला, मीठो कुरा गर्नुहोला, एकछिनमा भट्टीमा पसेर निस्कँदा ट्रक हिँड्ने बाटो तपाईंलाई पुग्दैन भने मान्छेले के भन्छ ?’ भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले सिद्धान्तभन्दा पहिलो कुरा बोलीवचन, शिष्टता र व्यवहार भएको बताउनुभयो ।

अझ नेताको आचरण खराब भए अरू पछाडि लाग्न नसक्ने बताउनुभएका अध्यक्ष ओलीले भन्नुभयो, ‘टिल्ल जाँड खाको छ । को हो तपाईं ? भन्दा म एमालेको जिल्लाको नेता हुँ । नपत्याए कार्ड हेर भन्छ ।’ अध्यक्ष ओलीले थप्नुभयो‘यसरी एमाले हुदैन ।’

सापटी लिएको फिर्ता नगर्ने, रफ बोल्ने, व्यवहार राम्रो नगर्ने, घरमा गएर श्रीमती कुट्ने, श्रीमतीले श्रीमानलाई बसि खान नदिने प्रवृत्ति गर्नेलाई जनताले नपत्याउने भन्दै यस्ता आचरण भए त्याग्न ओलीले निर्देशन दिनुभयो ।

Back to top button