कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट आज मृत्यु भएको छ ।

भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो।

‘पारि एसएसबीको नं. ८ क्याम्पबाट करिब डेढ किलोमिटरभित्र जङ्गलमा यहाँबाट ७–८ जना महिला घाँस काट्न गएका रहेछन्,’उहाँले भन्नुभयो,‘सोही क्रममा कलशालाई बाघले आक्रमण गरेको हो ।’

प्रहरीका अनुसार अन्य महिला सकुशल छन् । प्रहरीले मुचुल्कालगायतको प्रक्रिया सकेपछि शव नेपाल प्रहरीलाई बुझाउने प्रमुख प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

‘शव आजै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर परीक्षण गर्ने तयारी छ,’मल्लले भन्नुभयो,‘मतृकको घाँटी र टाउकोमा गहिरो चोट देखिएको छ ।’

Back to top button