कोशी प्रदेश नामाकरण विवाद, चैत ५ गतेको घटना छानविन गर्न समिति गठन गरिने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी राख्ने निर्णय प्रदेश सभाले गरेको थियो। सोही निर्णयको विरोधस्वरुप प्रदर्शन गरिएको थियो।

चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट घाइते हुनुभएका पदमबहादुर लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा हिजो बिहान साढे २ बजे मृत्यु भएको थियो।

Back to top button