अर्को निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्छ : गगन थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आम निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

कांग्रेस क्षेत्रीय समितिले आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताउृनुभयो ।

‘अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ ।’

पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका नेता थापाले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको बताउनुभयो ।

उहाँले केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने बताउनुभयो । पार्टीको बैठक भन्दा ३ गुना धेरै गठबन्धनको बैठकमा बस्नुपरेको भन्दै उहाँले जनताको असन्तुष्टिलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।

अहिले कुनै क्षेत्र राम्रो छ भन्ने अवस्था नरहेको भन्दै सरकारले जनतालाई राहतको महसुस गराउनुपर्ने बताउनुभयो ।

Back to top button