कोशी प्रदेश नामाकरण विवाद, चैत ५ गतेको घटना छानविन गर्न समिति गठन

काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि समिति गठन गरेको छ ।

सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा चैत ५ गते प्रहरीको लाठीचार्जबाट घाइते हुनुभएका पदम लिम्बूको मृत्यु भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण गरेको र सो विषयमा संवेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छोडेर संवादमा सहभागी बन्न पनि आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ ।

उहाँले प्रदेश नामाङ्कन संयुक्त सङ्घर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा सङ्घ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको थियो ।

सो अवसरमा सरकारका तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागी र गृहसचिव विनोदप्रकाश सिंह हुनुहुन्थ्यो ।

प्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा भएको लिम्बूको निधनप्रति दुःख प्रकट गर्दै घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, शहीद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने तथा प्रादेशिक नामकरणको विषयमा राजनीतिक तहमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सकिने बताउनुभएको थियो ।

Back to top button