एस्पाएरका विद्यार्थीको एक दिन पूर्वाञ्चल बाल सेवा आश्रमलाई

विराटनगर । विराटनगर– १४ स्थित एस्पायर कलेजका ब्याचलर इन प्रोफेसनल हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीहरुले पूर्वाञ्चल बाल सेवा आश्रमका बाल बालिका सँग एक दिने कार्यक्रम गरेका छन ।

कार्यक्रममा विद्यार्थीहरु आफैले खाना तयार पारेर आश्रममा दिवा भोजको आयोजना गरेका छन् । अरबिन्द नायक नेतृत्वको समूहले खाना तयार पारेको थियो भने लिजा खतिवडा नेतृत्वको समूहले नृत्यसहित विभिन्न खेलकुदका कार्यक्रम आयोजना गरि मनोरञ्जनका प्रदान गरेका छन् ।

सुलभ निरौलाले व्यवस्थापकीय भूमिका निर्वाह गरेको उक्त कार्यक्रममा सुगन्ध रेग्मीले गीत गाउनुभएको थियो भने सीता ढकालले नृत्य प्रस्तुत गर्दै आश्रम परिवारलाई मनोरञ्जन प्रदान गराएको कलेजले जनाएको छ ।

उक्त कार्यक्रममा आफ्ना बिचार राख्दै आश्रमकी संरक्षक सीता पोखरेलले मुट्ठी दानबाट सुरु भएको आश्रममा विभिन्न दाताहरुको सहयोगबाट ३० बर्ष देखि अनवरत रुपमा सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।

उहाँले अहिलेका पुस्तालाई सेवा भावका काममा लाग्नका लागि अभिप्रेरित गर्दै उत्प्रेरणा समेत दिनुभयो ।

काठमाडौं विश्वविद्यालयले विद्यार्थीलाई सिकाइका लागि यस्तै विभिन्न गतिविधिहरु सञ्चालन गर्ने गरेको भन्दै सोही अनुसार विद्यार्थीहरुले आफैले संकलन गरेको रकमबाट आश्रममा भोजन गराइएको क्याम्पसका ब्याचलर इन प्रोफेसनल हस्पिटालिटीका कोअर्डिनेटर शुभम भट्टराईले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख सीएम बस्नेतले विद्यार्थीले सामाजिक उत्तरदायीत्व निभाउँदै आफैँ सहभागी भएर यस्ता कार्यक्रमहरु गर्ने गरेको भन्दै आश्रमका बालबालिका सँग जीवन जिउनेकलाका बारेमा सर्भेक्षण गर्दै क्याम्पसमा विस्तृत प्रतिवेदन बुझाउने बताउनुभयो ।

विद्यार्थीहरु क्याम्पसमा मात्र सिमित नभई चौतर्फी विकासका लागि सामाजिक काममा समेत सम्लग्न हुन र अध्ययन पूरा गरेपछि पनि सामाजिक उत्तरदायीत्व बहन गर्न सकुन भन्ने उद्देश्यले कार्यक्रम गरिएको क्याम्पसका अध्यक्ष विकास अधिकारीले बताउनुभयो ।

Back to top button