विराट गोल्डकपः सशस्त्र प्रहरी बल र भुटानको ड्रक लयुल फुटबल क्लव भिड्ने 

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकप फुटबल अन्तर्गत  आज सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लवबिच हुने छ ।

तेस्रो क्वाटरफाइनल खेलका रुपमा आज सँझ ७ बजेदेखि शहिद रंगशाला विराटनगरमा हुने प्रतियोगिता निकै रोमाञ्चक हुने आयोजकको विश्वास छ । साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली बिचको प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको हो ।

यसअघि हिजो सम्पन्न खेलमा विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जावलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा हिजो को दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट गरिएको हो ।

ट्राइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडनडेथमा पुगेको हो । सडनडेथमा जाउलाखेलको तर्फबाट सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङ्गले गोल गर्नुभएको थियो ।

आर्मीको तर्फबाट टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेपनि सेसेहाङ्ग आङदङबेको प्रहार बाहिरिदा आर्मी घर फर्किन बाध्य बनेको हो ।

Back to top button