विराट गोल्डकपः भुटानको ड्रक लयुललाई पराजित गर्दै एपीफ सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकपमा साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराती विराटनगरस्थित शहीद रंगशालामा भएको खेलमा विदेशी टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै एपीएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका युवराज खड्काले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । सविन थापाले निकालेको पासमा खड्काले हेडमार्फत गोल गर्नुभएको हो ।

एपीएफले सुरुवाती अग्रता लिए पनि खेलको ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गर्दै खेल १–१ को बराबरीमा फर्काउनुभयो । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको अतिरिक्त समयमा भुटानका खेलाडी कान्टे मुसाको पेनाल्टी एरियामा हेन्ड गरेपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै एपीएफका अरमान्द्र वेडमलले गोल गर्दै टिमलाई जित दिलाउनुभयो ।

प्रतियोगिताका भुटानका कान्टे मुसाले पहिलो रेड कार्ड पाउनुभयो । एपीएफका युवराज खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको बल मुसाले हातले रोकेपछि उहाँलाई रेफ्रीले रातो कार्ड दिएका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका अरमान्द्र घोषित हुनुभयो । एपीएफले अब फाइनल प्रवेशका लागि भारतको लुका सकर र संकटा क्बल बीचको बिजेता टिमसँग खेल्नेछ ।

Back to top button