आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूचीमा सत्य निरुपण विधेयक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने उल्लेख छ । अघिल्लो बैठकमा यस सम्बन्धी विधेयक प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको थियो।

आजको बैठकमा त्यसमा छलफल हुने संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । छलफल सकिएपछि संशोधनका लागि ७२ घण्टे समय अवधि तोक्ने, संसदीय समितिमा पठाउने लगायतका प्रक्रिया छन् । तर संक्रमणकालीन न्यायसँग सम्बन्धित यी विधेयकलाई सरकारले फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ ।

संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि कार्यसूचीमा

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट नै संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

साथै सभामुख देवराज घिमिरेले पूर्वसभासद गणेशप्रसाद विमलीको निधनको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि पनि छ । २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यको रुपमा निर्वाचित हुनुभएका विमलीको ७४ वर्षको उमेरमा २०७९ चैत ७ गते निधन भएको थियो ।

यसैबीच आजै दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पेस गर्ने कार्यसूचि छ ।

Back to top button