राष्ट्रपति पौडेल आज गोरखा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै हुनुहुन्छ । राष्ट्रपति बनेपछि उहाँ पहिलो पटक काठमाडौं बाहिर जान लाग्नुभएको हो ।

उहाँ बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानुहुने छ । उहाँको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।

प्रजिअ भुसालका अनुसार राष्ट्रपति पौडेल आउ–जाउ गर्ने सडकको यातायात होस् या मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी आवश्यक प्रबन्ध मिलाइएको छ ।

उहाँले भन्नुभयो,‘सर्वसाधारण प्रभावित नहोउन् भनेर हामीले एकदमै सिम्पल तरिकाले आवश्यक प्रबन्ध गरेका छौं ।’
यसअघि राष्ट्रपति पौडेल साधारण तरिकाले काठमाडौंको बसन्तपुर दरबारमा जाँदा उहाँको प्रशंसा भएको थियो ।

Back to top button