मन्त्रिपरिषद् विस्तारको गृहकार्य जारी, साझेदार दलबीच छलफलको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य जारी राख्नुभएको छ ।

आज सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको प्रस्तावलाई अन्तिम रुप दिने र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले हिजोको पार्टी पदाधिकारी बैठकमा आज गठबन्धनमा सहमति जुटाएर भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएको थियो।

त्यसका लागि उहाँले मन्त्रालय भागबण्डाको खाकासमेत तयार पारिसकेको बताउनुभएको छ । सो प्रस्तावित खाकाबारे प्रधानमन्त्री प्रचण्डले आज कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको थियो।

आज गठबन्धनका अन्य दलका शीर्ष नेताहरूसँग पनि छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सुरुमा गठबन्धनका दलहरुसँग अलग–अलग छलफल गर्ने र संयुक्त छलफल गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो ।

सत्तारुढ दलहरुबीच मन्त्रालय भागबन्डा सहमति नजिक पुगेको नेताहरुले बताउँदै आएका छन् । सबैभन्दा पेचिलो बनेको अर्थ मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहे पनि अन्य मन्त्रालय बाँडफाँटमा विवाद नरहेको स्रोतले बतायो ।

Back to top button