देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक : गृहसचिव सिंह

काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभएको छ ।

आज गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दज्र्यानी चिह्न प्रदान गर्दै उहाँले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरी मुलुकलाई आवश्यक रहेको बताउनुभएको छ ।

‘अहिले अनुशासित र स्वच्छ प्रहरी हामीलाई चाहिएको छ । व्यवसायिक प्रहरी हामीलाई चाहिएको छ । व्यवसायिक प्रहरी भन्नेबित्तिकै तालिमको कुरा छ, अन्य कुराहरु छन्, नयाँ प्रविधिको कुरा छ । तर यी समस्या समाधानका लागि पदमा बस्ने कर्मचारीहरुको मनोबल र अठोट हुने हो भने राम्रो गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।

पछिल्लो समय प्रविधिको प्रयोगमार्फत हुने अपराध बढेको भन्दै गृह सचिव सिंहले अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताउनुभयो ।

सचिव सिंहले प्रहरीलाई अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलतामा लैजानुपर्ने भन्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट त्यही अपेक्षा रहेको बताउनुभयो ।

‘अनुशासनहीनतालाई, लापरबाहीलाई र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शून्य सहनशीलता बनाउनु हुनेछ । मन्त्रालय देखिने गरी सुधार भएको हेर्न चाहन्छ । विगतमा सुधारका क्रमहरु चलेका छन्, तर त्यो सुधार अझैपनि पूर्ण भएको जस्तो लाग्दैन’ उहाँले भन्नुभयो ।

Back to top button