प्रमुख चार दलको संयुक्त वक्तव्यः शान्तिपूर्ण ढङ्गबाट समस्याको समाधान गर्न लागौं (वक्तव्यसहित)

विराटनगर । प्रदेश नं. १ को नाम कोशी नामकरण भएपछि उत्पन्न परिस्थिति प्रति मुख्य चार दलले गम्भिर ध्यानाकर्षण भएको भन्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको कोशी प्रदेश कमिटीले संयुक्त वक्तव्य जारी गर्दै शान्तिपूर्ण तवरबाट समस्याको समाधान खोज्न आग्रह समेत गरेका छन् ।

बृहत सहमतिका साथ प्रदेशसभाको नामकरण भएको उल्लेख गर्दै वक्तव्यमा प्रदेशसभाको पहिलो कार्याकालमा नामकरण हुन नसक्दा भएको आलोचना, आक्रोश र पिडालाई स्मरण गराउँदै दलहरुले नामकरणको विषयमा कुनै असहमति वा फरक मत भए संवैधानिक प्रकृया मार्फत त्यसको समाधान खोज्नुपर्ने उल्लेख गरेका छन् ।

तर पछिल्लो समय भइरहेका सामाजिक सद्भावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण ढङ्गबाट आफ्ना मत र मुद्दालाई स्थापित गर्न सम्वाद, वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्न सरकारलगायत सम्बन्धित सबै पक्षलाई दलहरुले अपिल गरेका छन् ।

प्रदेशको नामकरणको विषय कुनै दल विशेषको मात्र नभई सार्वभौम जनताबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको आफ्नो प्रदेशको नामकरण आफैं गर्न पाउने संवैधानिक अधिकार रहेको उल्लेख गर्दै सोही अधिकारको प्रयोग गर्दै नेपालको संविधानको धारा २९५(२) अनुसार तत्कालिन प्रदेश नं. १ को नामकरण कोशी प्रदेश रहन पुगेको उल्लेख गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्दव थापा, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कमिटी सचिव गणेश उप्रेती र राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश कमिटीका अध्यक्ष राम थापाद्वारा जारी वक्तव्यमा असहमतिहरुलाई संवैधानिक प्रकृयाबाट नै समाधान खोज्न आग्रह गरिएको छ ।

Back to top button