राष्ट्र सिकिस्त बिरामी अवस्थामा छः सांसद् कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. शेखर कोइरालाले राष्ट्र सिकिस्त बिरामी अवस्थामा रहेको बताउनुभएको छ ।

संसद्को विशेष समयमा बोल्दै सांसद् कोइरालाले नेपालमै उद्यम गरेर टिक्न खोजेका व्यवसायीहरू हतास मनस्थितिमा रहनु राष्ट्र सिकिस्त बिरामी भएको अवस्था रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘जोखिम मोलेर, मिहेनत गर्दै आफ्नो उद्यमशीलताको बलमा स्व–पुँजी परिचालन गर्ने,रोजगारी सिर्जना गर्ने र सरकारलाई कर तिर्ने वर्ग अहिले निराश भएको पाएँ । गरिखाने युवा वर्ग सबै विदेश पलायन हुन खोज्नु र यहीं उद्यम गरेर टिक्न खोजेका व्यवसायीहरू हतास मनस्थितिमा रहनु भनेको हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो ।’

संसद गणितको मात्र खेल नभएको कोइरालाको भनाइ छ । उहाँले भन्नुभयो,‘संसद् सम्पूर्ण तीन करोड नेपालीको आस्था र आशाको पुञ्ज हुनसक्नुपर्छ । आम नागरिक यो व्यवस्थाले हाम्रो अवस्थामा कुनै परिवर्तन नआएको गुनासो गरिरहँदा हामी त्यसतर्फ सचेत हुने कि नहुने? मलाई लाग्दछ अब हामी ढिलो नगरी जनअपेक्षा अनुरुप संसद, सरकार र प्रतिपक्ष सवै एकै ठाउँमा उभिएर नागरिक चिन्तालाई संवोधन गर्न अगाडि बढ्नको विकल्प छैन । ’

उहाँले हाम्रा आफ्नै विगतका कमी कमजोरीले संघीयता र प्रदेश संरचना प्रतिको वितृष्णा दिनप्रतिदिन चुलिंदो रहेको पनि बताउनुभयो ।

Back to top button