मेरो भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरिदिनुहोला : राष्ट्रपति पौडेल

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।

आज गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ,’ उहाँले भन्नुभयो,‘त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौं ।’

सवारी शब्दको ठाउँमा आवागमन शब्द प्रयोग गर्न उहाँले सुझाउनुभयो । गणतन्त्र र राजतन्त्रको राष्ट्राध्यक्षबीच फरक हुने भन्दै पौडेलले आफूले यस्ता विषय राष्ट्रपति चुनाबकै बेलादेखि हेक्का राख्दै आएको समेत बताउनुभयो ।

राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धन गर्ने आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको उहाँले बताउनुभयो ।

यस्तै, नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपश्चात काठमाडौँ बाहिरको पहिलो भ्रमण ऐतिहासिक र धार्मिक महत्वको जिल्ला गोरखामा गर्न पाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

Back to top button