ट्राफिक कार्यालय अगाडि पार्किङ निषेध गरियो

विराटनगर । मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानका क्रममा विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गर्दै आएको पार्किङ  हटाएको छ ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो ।

ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा गुनासो आएपछि मेयर कोइराला आफैं उपस्थित भएर पार्किङ गरेका सवारी हटाउन लगाउनुभएको हो । महानगर प्रहरीसहित पुग्नुभएका कोइरालाले सडक र फुटपाथमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन दिनुभयो ।

सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडिको सडक र फुटपाथमा वर्षौंदेखि राख्दै आएको थियो ।

महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई मेयर कोइरालाले पार्किङ नगर्न आग्रह गर्नुभयो । नियम कानुन सबैलाई बराबर लाग्ने भन्दै मेयर कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरु लागेको बताउनुभयो ।

जनगुनासोलाई सम्बोधन गर्दै अबदेखि ट्राफिक कार्यालय अगाडिको सडकलाई पनि पार्किङ निषेध गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले ठाउँ अभावका कारण विगतदेखि नै राख्दै आए पनि अबदेखि व्यवस्थित गर्ने बताउनुभयो । श्रेष्ठले अबदेखि वैकल्पिक ठाउँमा पार्किङ गरिने बताउनुभयो ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।

Back to top button