आज चैती छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइँदै

विराटनगर। तराई मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठ पर्व समापन हुने गर्छ ।

वर्षमा दुई पटक छठ पर्व मनाउने गरिएको छ । कात्तिकमा मनाइने छठ पर्वलाई भने ठूलो संख्याका श्रद्धालुहरुले मनाउने चलन छ भने उत्तिकै आस्था र विश्वासका साथ चैती छठ पर्व पनि मनाउने विराटनगर–६ की सुनिता कामतले बताउनुभयो ।

उहाँका सबैले चैती छठ मनाउँदैनन्, मनाउनेले उस्तै विधिपूर्वक मनाउने बताउनुभयो । विशेष गरि यो पर्व तराईका क्षेत्र र मधेश प्रदेशमा बढी मनाउने गरिएको छ ।

चार दिनसम्म अत्यन्त नियम निष्ठाका साथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।

आज सूर्य अस्ताउनु एक घण्टा पहिलेदेखि नै व्रतालुहरु जलाशयमा प्रवेश गरि षष्ठीमाताको ध्यान गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा ठेकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।

यस्तै भोलि अर्थात चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने गर्दछ । चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

Back to top button