सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

प्रतिनिधि सभा नियमावलीमा सभामुखको तजबिजको अधिकार कटौती गर्ने प्रस्ताव आएपछि सभामुख घिमिरेले संवादलाई तीव्रता दिनुभएको छ ।

सत्ता पक्षका सांसदहरूले संसद्को नियमावलीमै सभामुखको अधिकार कटौतीको माग गर्दै संशोधन प्रस्ताव पेस गरेपछि उहाँले संवादलाई अगाडि बढाउनुभएको हो ।

सांसदसँग अनौपचारिक छलफल गरेका सभामुख घिमिरेले हिजो दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभएको थियो । प्रतिनिधि सभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्यव्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ।

सभामुखको अधिकार कटौतीको विपक्षमा प्रतिनिधि सभामात्र नभई राष्ट्रियसभाका सांसदहरु समेत उभिएका छन्। अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभामुखमा घिमिरे चुनिनुभएको छ ।

Back to top button