बारा–२ मा कांग्रेसबाट उम्मेदवारमा राधेचन्द्र यादवको नाम सिफारिस

वीरगन्ज । उपनिर्वाचनका लागि बारा–२ मा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले राधेचन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

आज कलैयामा बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले बारा–२ को उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारमा यादवको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

यादव संविधानसभा सदस्य हो । पहिलो संविधानसभा निर्वाचनमा यादव बारा–२ बाटै प्रत्यक्ष तर्फको संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

कांग्रेस बाराका पूर्व सभापति समेत रहनुभएका यादव हालको जिल्ला सभापति राजेशराय यादवका बुवा पनि हो । उम्मेदवार सिफारिसका बारेमा आज जिल्ला सभापति राजेशराय यादवको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले यादवको एकल नाम सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस महाधिवेशन प्रतिनिधि लोकेश सिंहले जानकारी दिनुभयो।

कांग्रेस जिल्ला कार्यसमितिले यादवको नाम सिफारिस गरेपनि वैशाख १० को उपनिर्वाचनमा बारा–२ मा कांग्रेस शीर्ष नेतृत्वले भने सत्तागठबन्धनबाट जसपालाई सघाउने वचन दिइसकेको छ। उक्त क्षेत्रमा जसपाबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने चर्चा छ।

त्यसकारण कांग्रेस जिल्ला कार्यसमितिले विधान सभा सदस्य यादवको नाम सिफारिस गरेपनि यो ‍‍औपचारिकताका लागि मात्रै भएको हुन सक्ने आकलन गरिएको छ।

Back to top button