स्वर्गीय लाजेहाङको परिवारलाई तीनलाख रुपैयाँ राहत दिने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले नामकरणका सम्बन्ध असहमति राख्दै भएको विरोध कार्यक्रममा सहभागी भई चैत १० गते निधन हुनुभएका पदम लिम्बु (लाजेहाङ) को परिवारलाई राहतस्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

चैत ५ गते कोशी नामकरणको विरोध कार्यक्रममा विराटनगरमा सहभागि हुनुभएका लाजेहाङलाई टाउकोमा लाठीले लागेको थियो । दुईदिनपछि एकाएक स्वास्थ्यमा समस्या आएपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना हुनुभएका लाजेहाङको उपचारकै क्रममा निधन भएको थियो ।

आज बसेको कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले लाजेहाङको निधनप्रति दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनामा समवेदना प्रकट गरेको छ ।

यस्तै उहाँको निधनपछि घटनाको सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारले गगन गरेकोसमितिलाई सहजीकरण गर्ने समेत प्रदेश सरकारले निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको २५ औं मन्त्रिपरीषद बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको रिक्त निर्देशक पदमा अर्को ब्यवस्था नभएसम्मका लागि प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ ।

यसैगरि पर्यटन, वन वातावरण मन्त्रालयले पेश गरेको प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७को संसोधन विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने निर्णय पनि आजको बैठकले गरेको कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले प्रदेश नामकरणमा भूमिका खेल्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै प्रदेशवासीलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

Back to top button