विराट गोल्डकपः सेमिफाइनलको टिकट दर घट्यो

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकप फुटबलको सातौं संस्करणमा अपेक्षाकृत दर्शक नभएपछि आयोजकले टिकट दर घटाएको छ । सुरुका खेलमा अपेक्षाकृत दर्शक भएपनि पछिल्ला खेलहरुमा आशातित दर्शक नपुगेपछि टिकट दर घटाएको हो ।

 ५ सय रुपैयाँ कायम रहेको टिकटदरलाई तीन सय रुपैयाँ कायम गरिएको प्रतियोगिताका सहसंयोजक शुसोभन कोइरालाले बताउनुभयो । यस्तै उहाँले प्रतियोगिता हेर्न जाने जेष्ठ नागरिकलाई निशुल्क र विद्यार्थी तथा अपाङ्ता भएका व्यक्तिहरुलाई परिचयपत्र देखाएर २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले टिकटदर महङ्गो भयो भन्ने गुनासोप्रति भने विगतका वर्षहरुकै दर कायम गरिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘अघिल्लो वर्षकै टिकटदर कायम गरिएको हो, त्यसमा भिआईपी हटाएर समान बनाइएको थियो, अझ सेमिफाइनलका खेलमा ५ सयबाट तीन सयमा झारिएको छ ।’

विराटनगरकै गौरवको रुपमा लिइने विराट गोल्डकपलाई भव्यताका साथ सम्पन्न गर्न महानगरबासी सबैको साथ चाहिने भन्दै प्रतियोगिताको संयोजक रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले देखिएका कमजोरीहरु सुधार्दै अघि बढ्ने बताउनुभयो ।

आज शहिद रंगशालामा आयोजित पत्रकार सम्मेलनमा संयोजक कोइरालाले भन्नुभयो,‘ केहि कमजोरीहरु भएको हामीले स्वीकार्नुपर्छ, तर यो प्रतियोगिता महानगरकै गौरवको बिषय हो यसलाई सफल बनाउन सबैसँग आग्रह गर्दछु ।’

प्रतियोगिताको सफलताको लागि राय लिने उद्देश्यले आ योजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, पूर्व प्रदेश अध्यक्ष विक्रम लुईटेल, अग्रज पत्रकार मोहन भण्डारी, प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालालगायतले विभिन्न सुझावहरु दिनुभएको छ ।

पत्रकारहरुले गोल्डकप प्रतियोगिता आयोजना भइरहँदा महानगरका सबै पक्षसँग प्रभावकारी समन्वय हुन नसकेको, प्रचारप्रसारका लागि स्थानीय मिडियाको उपयोग गर्न नसकेको, विराट गौल्डकप ट्रष्टलाई सक्षम बनाउन ध्यान दिन नसकेको भन्दै त्यस्ता कमजोरी सुधार्दै अघि बढ्न सुझाव दिनुभएको छ ।

Back to top button