विराट गोल्डकपः विराटनगर सिटी उपाधी नजिक, आज लुका सकर र एपीएफ भिड्दै

विराटनगर । विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकप प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा विजयी हुँदै घरेलु टिम विराटनगर सिटी उपाधी नजिक पुगेको छ ।

गएराती सम्पन्न खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी फाइनलमा प्रवेश गरेको हो । विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चत गर्नुभयो ।

जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काउनुभयो । विराटनगरले संघर्षपूर्ण जीत हासिल गरेको हो । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो ।

जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएका अवसर गोलमा परिणत हुन सकेन । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेल दवावमा परेको थियो । ५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिलाउनुभयो ।

बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर बल फालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भयो ।

८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई बैकल्पिक खेलाडी अभिषेक गुरूङले गोल गरी टिमको लागि विजय गोल गर्नुभयो । अभिषेक ६१ औं मिनेटमा आफाजको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।

खेलको म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित हुँदै ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो । जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुको मेहनतको कारणले जित हासिल गरेको बताउनुभयो ।

पहिलो हाफसम्म खेलाडीहरुले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको बताउनुभयो । जावलाखेलको प्रशिक्षक सुनिल कुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा पराजय व्यहोर्नु परेको बताउनुभयो ।

आजको सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुनेछ ।

Back to top button