कोशी प्रदेशका गाउँगाउँमा मिसन ग्रासरुट अभियान

विराटनगर । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीले मिसन ग्रासरूट अभियानको मध्यावधि समिक्षा बैठक सम्पन्न गरेको छ ।

जिल्ला अध्यक्ष शंकर कटुवालको अध्यक्षतामा, पार्टीका केन्द्रीय सचिव तथा ग्रासरुट कोशी प्रदेशका अनुगमन संयोजक टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा समिक्षा बैठक सम्पन्न भएको हो ।

बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्यहरु उषाकला राई, बिनोद ढकाल, पर्शुराम
अधिकारीलगायतको उपस्थिति थियो ।

बैठकले आगामी दिनमा मिसन ग्रासरूट कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने निर्णय गरेको जिल्ला अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

यस्तै सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ कमिटीले पार्टी सदस्यहरूका लागि पार्टी सुदृढीकरण र विस्तार अभियान बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियैतले कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

मोरङको धनपालथानमा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानले तीव्रता पाएको छ । सोमबार धनपालथानको १ नम्बर वडामा विस्तारित बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा पार्टी सदस्यता वितरण अभियान पनि सुरु भएको छ ।

यस्तै मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकामा पनि सवल एमाले बनाउँने हाम्रो अभियान भन्ने नाराका साथ मिसन ग्रासरुट अभियान चलिरहेको छ ।

पार्टीका केन्द्रीय प्रतिनिधि विशाल भट्टराईको उपस्थितिमा विराटनगर र बुढीगंगामा दिनहूँ कार्यक्रम सञ्चालन भइरहेका छन् । विराटनगरको १९ र १० नम्बर वडा तथा बुढीगंगाको वडा नम्बर १ र ३ मा टोलस्तरीय कमिटी निर्माण, प्रशिक्षण, भेला तथा बिस्तारित बैठक सम्पन्न भएको एमाले पोलिट्ब्यूरो सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो ।

संखुवासभामा मिसन ग्रासरुट अभियान अनुगमन तथा प्रशिक्षण सम्पन्न भएको छ । सोमबार नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य विनोद ढकाललगायतको उपस्थितिमा संखुवासभाको प्रदेश निर्वाचन क्षेत्र (ख) मा मध्यावधि समिक्षा तथा बृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

Back to top button