टंगालबाट भद्रकाली तर्फलागे मिटर ब्याज पीडित

काठमाडौं । आफूहरूको समस्या समाधानको माग राख्दै आन्दोलनमा उत्रिएका मिटर ब्याज पीडितहरू काठमाडौंको टंगालमा धर्ना सकेर भद्रकालीतिर लागेका छन् । उनीहरूले भद्रकालीमा धर्ना दिने बताएका छन् ।

तराईबाट १२ दिन पैदल हिँडेर मिटरब्याजीविरुद्ध न्यायको खोजी गर्दै हिजो काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरी र महानगरीय प्रहरीले खुल्लामञ्च प्रवेश गर्न रोकेका थिए ।

त्यसपछि सडकमै रात बिताएका उनीहरूले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन भनेर अघि बढेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेको थियो । त्यसपछि उनीहरूले टंगालमै धर्ना बसेका थिए ।

टंगालमै आएर मुख्यसचिवले उनीहरूलाई धर्ना स्थगित गर्न आग्रह गरेका थिए । तर उनीहरूले प्रधानमन्त्रीलाई आफ्ना पीडा सुनाउने बताएका थिए ।

आफूहरूका माग पूरा नभएसम्म प्रदर्शन नरोकिने उनीहरूले बताएका छन् ।

Back to top button