रामेछापमा वृद्धमाथि खुकुरी प्रहार गरी हत्या

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धमाथि खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आउनुभएका शमशेरबहादुर थापामगरको गएराति हत्या भएको हो।

खुकुरी प्रहारबाट घाइते हुनुभएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो। खुकुरी प्रहारबाट उहाँको टाउकोमा गहीरो चोट लागेको थियो।

श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध २ नातिनीका साथ बस्दै आउनुभएको थियो। नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी उहाँमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो।

घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको उहाँले बताउनुभयो।

Back to top button