नेपालको राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्णः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा बोल्दै उहाँले विश्व परिवेशमा भइरहेका घटनाहरूको कारणले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरुले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको बताउनुभयो। यो तथ्यले नेपालजस्ता मुलुकहरूका लागि झन् बढि महत्पूर्ण हुने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो,‘विश्व परिवेशमा भइरहेका घटनाहरुको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरुले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यो तथ्य नेपालजस्ता मुलुकहरूका लागि झन् बढी महत्वपूर्ण हुने गर्दछ।’

प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

सुरक्षा भनेकै राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको समग्र सुरक्षा भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसको आयाम सैनिक शक्तिलाई मात्र आधार नबनाइ राष्ट्रको सार्वभौमिकता,राष्ट्रिय अखण्डता एवं मानवीय पक्षलगायतलाई सम्बोधन गर्नु उत्तिकै आवश्यक रहेको बताउनुभयो।

त्यसका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकसित हुनुपर्ने उहाँको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले नेपालका सबै सुरक्षा निकायलाई सवल, सक्षम, सुदृढ,व्यवसायिक बनाउन आन्तरिक एवं बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान गर्नुपर्नेमा जोड दिनुभयो।

Back to top button