विराटनगरमा नामकरण खारेजी पक्षधर र प्रहरीबीच झडप, ५ सुरक्षाकर्मी घाइते

विराटनगर । विराटनगरमा पहिचान पक्षधरको प्रदर्शन नियन्त्रणमा लिने क्रममा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

नेपाल प्रहरीका ३ र सशस्त्रका २ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइते सुरक्षाकर्मीको पूरा विवरण प्राप्त भइसकेको छैन ।

यद्यपि घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने काम भइरहेको प्रहरीले जनाएको छ । आन्दोलनकारीतर्फ कतिजना घाइते भए भन्ने यकिन भइसकेको छैन ।

यस्तै, पहिचान पक्षधरले गरेको प्रदर्शन नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीबीच दोहोरो झडप भएको थियो । सुरक्षाकर्मीलाई लक्षित गरेर आन्दोलनकारीले ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । १५ राउण्ड हवाईफायर गरिएको सुरक्षा स्रोतले बतायो । प्रदेश १ को नाम कोसी राखिएपछि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकरण हुनुपर्ने मागसहित पहिचानवादी आन्दोलित छन् ।

कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरले आज विराटनगरको पाञ्चालीनजिक प्रदर्शन गरेका थिए । बिग होटल आसपासमा प्रदर्शन र हुलदंगा हुन थालेपछि दोहोरो झडप भएको थियो । आन्दोलनकारीले होटलको कफी सपमा समेत तोडफोड गरेका छन् ।

शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बनाउन आन्दोलनकारीले नै भूमिका खेलेको दाबी प्रहरीको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो ।

आन्दोलनरत पक्षबाट अहिले विराटनगरमा कोणसभा भइरहेको छ । कोणसभालाई पहिचान पक्षधर नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहेको र अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

कोसी नाम खारेज हुनुपर्ने, मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने,पहिचानवादी एक हुनुपर्ने लगायतका नारा लगाएर पहिचान पक्षधर प्रदर्शनमा उत्रिएका हुन् ।

Back to top button