मन्त्रालय टुंगिएको केही घन्टामै मन्त्रीको नाम दिन्छौंः नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

आज बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो । बैठकमा नेताहरुले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलबारे जानकारी गराएका थिए ।

बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले सिट बाँडफाँट टुंगो लागिनसकेकाले मन्त्रीहरुको नाम टुंगो नलागेको बताउनुभयो ।

‘जति चाँडो नाम माग्नुहुन्छ, त्यति चाँडो बैठक बसेर नामहरु दिने छौं’, उहाँले भन्नुभयो,‘कम्तिमा ३ मन्त्रालय पाउनुपर्‍यो भन्ने हाम्रो दाबी छ, मन्त्रालयको टुंगो लागेको केही घण्टामै नाम दिन्छौं ।’

बैठकले केदार न्यौपाने र चुडामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको छ । एकीकृत समाजवादीले मिटरब्याजीविरुद्ध काठमाडौंमा भइरहेको आन्दोलनप्रति समर्थन जनाएको छ र उनीहरुको माग तत्काल पूरा गर्न माग गरेको छ ।

‘धेरै लामो समय हिँडेर, दुःख गरेको काठमाडौं आइपुगेका छन् । उनीहरु सडकमा छन् । हामी, हाम्रो पार्टी उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दछ । हामी उहाँहरुको मागलाई पूरा गर्न सरकारसँग जोडदार माग पनि गर्दछौं’ प्रचार विभाग प्रमुख खतिवडाले भन्नुभयो ।

Back to top button