प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवाहरुलाई रिहा गर्न विश्वप्रकाश शर्माको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेका युवाहरुलाई रिहा गर्न माग गर्नुभएको छ । ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले प्रहरी नियन्त्रणमा रहेका युवाहरुलाई रिहा गर्न माग गर्नुभएको हो ।

‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो । आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’, शर्माले लेख्नुभएको छ ।

यही चैत ७ गते ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सम्बन्धी सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्काले नाराबाजी गर्नुभएको थियो । उहाँहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनिदिएको फोटो र भिडियो सार्वजनिक भएपछि सरकारले बोल्न प्रतिबन्ध लगाएको भन्दै आलोचना भएको छ ।

उहाँहरुलाई अभद्र व्यवहार मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा ५ हजार धरौटी तोक्नुभएको थियो । तर, धरौटी नबुझाएका कारण उहाँहरु जेल चलान हुनुभएको छ ।

Back to top button