ललितपुर मेयर कपको फाइनल खेलमा कोशी र एपीएफ

काठमाडौं । मधेश प्रदेशलाई ६२ रनले हराउँदै कोशी प्रदेश ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा पुगेको छ । यो जितसँगै कोशी विभागीय टोली एपीएफसँग फाइनल खेल खेल्ने पक्का भएको हो ।

रुविना क्षेत्रीको अलराउन्डर प्रदर्शनमा कोशीले मधेशलाई फराकिलो अन्तरले पराजित ग¥यो । कोशीका लागि रुविनाले ब्याटिङबाट ३८ बलमा ६ चौका सहित ३९ रन बनाउनुभयो भने बलिङमा २ विकेट लिनुभयो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीका लागि काजोल श्रेष्ठले २२ रन बनाउनुभयो । कोशीले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो ।

तेस्रो क्रममा आउनुभएको अप्सरी बेगमले १९ रन, स्मृति कटुवालले १० रन जोड्नुभयो भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेशका लागि सरस्वती चौधरी, अमिरन निशा र अमिशा पटेलले समान २–२ विकेट लिनुभयो ।

कोशीले दिएको १०६ रनको विजयी लक्ष्य पछ्याएको मधेश ब्याटिङमा निकै कमजोर देखियो । उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रनमात्र बनाउन सक्यो ।

मधेशका लागि सरस्वती चौधरीले मात्र दोहोरो अंकमा रन बनाउनुभयो । उहाँले १७ बल खेल्दै १ चौका प्रहार गर्नुभयो । साना प्रविनले ८ रन, सन्तोषी चौधरीले ५ रन बनाउनुभयो।

अमिरान निशा र चाँदनी खातुन क्रमशः ८ र ४ रनमा अविजित रहनुभयो । कोशीका लागि कप्तान रुविना क्षेत्रीसँगै अलिसा खडिया र निशा शाहले समान २–२ विकेट लिनुभयो । सबनम राईले १ विकेट लिनुभयो।

यसअघि आज नै भएको पहिलो खेलमा ललितपुर मेयर ११ लाई ३७ रनले पराजित गर्दै एपीएफ समूह विजेता बनेर फाइनलमा पुगेको थियो ।

४ खेलमा ४ जित सहित ८ अंकका साथ एपीएफ शीर्षमा रह्यो भने कोशी प्रदेश ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका दोस्रो हुँदै फाइनलमा पुगेको हो ।

Back to top button